News आयोजक मनास्लु अन्तिम चारमा
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा १० स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट आयोजक मनास्लु युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमी समिकरण पूरा भएको छ । 

झापाको ८ टिम सहभागी प्रतियोगितामा ब्रदर्स युनाइटेड क्लब चन्द्रगढी, शनिश्चरे एफसी, बिर्तामोड युनाइटेड क्लब र आयोजक मनास्लु युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । 

आज भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक मनास्लुले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-१ गोलल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजकका लागि खेलको २५औँ मिनेट विशाल दर्जीले गोल गर्दै खाता खोलेका थिए । 

यस्तै, आयोजककै ५७औँ मिनेटमा रोशन मगरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । काँकरभिट्टाका लागि खमिर गिल्सन कन्दङ्वाले खेलको ६२औँ मिनेटमा गोल गरेर खेलमा फर्किने प्रयास गरेको थियो । 

यसअघि खेलको १८औँ मिनेटमा काँकरभिट्टाका गोलरक्षक देवन भुजेल राताे कार्ड पाउँदै मैदान बाहिरिएका थिए । एक खेलाडी गुमाएको काँकरभिट्टाले त्यसपछि २-० गोलको नतिजा व्यहोरे पनि अन्त्यतिर एक गोल फर्काएको थियो । 

आजको खेलको म्यान अफ अफ दी म्याच आयोजकका विशाल दर्जी घोषित भए । उनले नगद १५ सय पाए । भोलि शनिश्चरे एफसी र ब्रदर्स युनाइटेड चन्द्रगढीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । 

विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् । 

२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।

Post Comments