News आयोजक मनास्लु उपाधि नजिक
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा शनिबारको खेलबाट आयोजक मनास्लु युथ क्लब फाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिताको अन्तिम सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब बिर्तामोडलाई ३-१ गोलले पराजित गर्दै आयोजक मनास्लुले फाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि विशाल दर्जी, राजेश दाहाल र रोशन मगरले गोल गरे भने बिर्तामोडका सूर्य टुडुले एक गोल फर्काए । 

खेल सुरु भएको २ मिनेटमै आयोजकका लागि विशाल दर्जीले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी, राजेश दाहालले खेलको २०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । 

खेलको २३औँ मिनेटमा बिर्तामोडका लागि सूर्य टुडुले गोल गर्दै खेलमा फर्किने कोशिष गरे । तर, आयोजक मनास्लु युथ क्लबका लागि रोशन मगरले खेलको ५९औँ मिनेटमा थप गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरे । 

आयोजकको जितसँगै फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी शनिश्चरे एफसीसँग भेट पक्का गरेको छ । आजको खेलको म्यान अफ अफ दी म्याच आयोजकका विजय राई घोषित भए । उनले नगद १५ सय पाए । 

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् । २०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । 

उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ । फाइनल खेल सोमबार हुनेछ ।

Post Comments