News नेपाल र पाकिस्तान बीचको खेलमा तीन श्रेणीको टिकट मुल्य तय
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र पाकिस्तान बीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि तीन फरक श्रेणीको टिकट मूल्य निर्धारण गरेको छ । त्यसबारे एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । साथै मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी पनि पूरा भएको एन्फाले जानकारी दियो ।

एन्फाले जनाए अनुसार दर्शकहरुका लागि साधारणतर्फ ५ सय, भिआईपीतर्फ १ हजार तथा भिभिआईपीतर्फ ५ हजार टिकट मुल्य तोकिएको छ । स्मरण रहोस, नेपाल र पाकिस्तानबीचको खेल यहि कार्तिक ३० गतेका दिन दशरथ रंगशालामा हुँदैछ । जुन खेल बेलुका ५ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

सो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ । उता पाकिस्तानी फुटबल टोली भने आइतबार नेपाल आइपुग्ने बताइएको छ ।

भाग्यशाली दर्शकलाई कतार विश्वकप हेर्ने अवसर

एन्फाले नेपाल र पाकिस्तानबीच हुने खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकप प्रत्यक्ष हेर्न पाउने अवसर मिल्ने जानकारी दियो । एन्फाका अनुसार भिभिआईपीतर्फ टिकट काट्ने दर्शकहरु मध्ये एक जनालाई कतार विश्वकपतर्फ ब्राजील र क्यामरुनबीचको खेल हेर्न अवसर मिल्नेछ ।

Post Comments