News इङल्याण्डलाई सेनेगल, अमेरिकालाई नेदरल्याण्डस प्रतिद्वन्द्वी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप जारी रहँदा प्रतियोगिताको नकआउट समिकरण पनि तयार हुने तर्खरमा छ । मंगलबार राती समूह बी तर्फ आ–आफ्नो अन्तिम खेलमा इङल्याण्ड र अमेरिकाले जित दर्ता गरे र नकआउट चरणमा स्थान सुरक्षित गरे ।

इङल्याण्डले आफ्नो अन्तिम खेलमा छिमेकी प्रतिद्वन्द्वी वेल्सलाई ३–० ले हरायो र समूह विजेता बन्यो । त्यस्तै अमेरिकाले निर्णायक भिडन्तका रुपमा हेरिएको खेलमा कट्टर प्रतिद्वन्द्वी इरानमाथि १–० को साँघुरो जित निकाल्यो ।

सो खेलमा अमेरिकालाई निश्चित तथा इरानलाई बराबरी गरे पनि प्रर्याप्त हुने थियो । तर दुर्भाग्यपुर्ण रुपमा इरानले नतिजा अमेरिकालाई सुम्पिन बाध्य बन्यो ।

मंगलबारको दुई नतिजापछि ३ खेलबाट ७ अंक जोडेको इङल्याण्ड शिर्ष स्थानमा रहँदा ५ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रह्यो । त्यस्तै ३ अंक जोडेको इरान तेस्रो स्थानमा रह्यो र ऐतिहासिक रुपमा विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो । उता १ अंक मात्र जोडेको वेल्स भने पुछारमा रह्यो ।

समूह बी को विजेता बनेको इङल्याण्डले अब नकआउट चरणमा समूह ए को उपविजेता सेनेगललाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । त्यस्तै समूह बी को उपविजेता अमेरिकाले समूह ए को विजेता नेदरल्याण्डससँग नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणमा यी चार टोलीहरुबाहेक फ्रान्स, पोर्चुगल र ब्राजीलले पनि स्थान बनाईसकेका छन् । यद्यपि ती तीन टोलीहरुको समूहबाट समूह विजेता र उपविजेताको टुंगो लाग्न बाँकी छ ।

Post Comments