News जापानको सनसनी, स्पेन जोगिंदा जर्मनी नकआउट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कतार विश्वकपमा यसपटक अप्रत्याशित र उत्कृष्ट प्रदर्शन गरिरहेको एसियन पावर हाउस जापानले समूह ई तर्फ आफ्नो अन्तिम खेलमा पूर्व विजेता स्पेनलाई २–१ ले हराउँदै समूह विजेता बन्दै लगातार दोस्रोपटक नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

खलिफा इन्टरनेशनल स्टेडियममा स्पेनले ११औं मिनटमा अल्वारो मोराटाको गोलबाट अग्रता बनाएको थियोे । तर दोस्रो हाफमा जापानले उत्कृष्ट पुनःरागमन गर्यो । वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका रित्सु डोआनले जापानका लागि ४८औं मिनटमा पहिलो गोल फर्काए ।

लगतै ५१औं मिनटमा आओ तनाकाले जापानका लागि दोस्रो र निर्णायक गोल गरे । यद्यपि त्यो गोल विवादित बन्न पुग्यो । आउटलाईन बाहिर देखिएको बललाई सदुपयोग गर्दै जापानी खेलाडीले गोलमा परिणत गरेका थिए । त्यो गोललाई मान्यता दिन लामो भिडियो एसिसटेन्ट रेफ्री (भार) को प्रयोग गरिएको थियो । अन्ततः रेफ्रीले त्यो गोललाई मान्यता दियो ।

अर्को खेलमा चारपटकको च्याम्पियन जर्मनीले कोस्टारिकामाथि ४–२ को जित निकाल्यो । तर पनि त्यो जित जर्मनीलाई जोगाउन प्रर्याप्त बनेन । स्पेन र जर्मनीको ३ खेलबाट समान ४–४ अंक भयो । तर गोलभिन्नताका आधारमा स्पेन जर्मनी भन्दा अगाडी रहेर समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो ।

त्यस्तै ३ अंक जोडेको कोस्टारिका समूहको पुछारमा रहेर जर्मनीसँगै समूहबाट बाहिरियो । ६ अंक जोडेको जापान शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो । जापानले समूह चरणमा कोस्टारिकासँग १–० को हार बेहोरेको थियो भने जर्मनीलाई पनि २–१ को नतिजाले पराजित गरेको थियो ।

नकआउट चरणमा जापानले गत संस्करणको उपविजेता क्रोएशियाको सामना गर्नेछ भने स्पेनले मोरक्कोसँग खेल्नेछ ।

Post Comments