News कोरियासँग पोर्चुगल हार्दा घाना र उरुग्वे बाहिरिए
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको समूह चरणको खेलहरु सकिने अन्तिम दिन पनि रोमाञ्चक नतिजाले फुटबल समर्थकहरुलाई थप रोमाञ्चक बनाईदियो ।

समूह एचतर्फको अन्तिम खेलमा जित्नै पर्ने दबाबका साथ एजुकेशन सिटी स्टेडियममा पोर्चुगल विरुद्ध उत्रिएको दक्षिण कोरियाले युरोपियन महारथी विरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो ।

खेलको पाँचौं मिनटमै रिकार्डो होर्टाले गोल गर्दा कोरिया हतोत्साहित बनेको थियो । तर कोरियाले हिम्मत भने हारेन । २७औं मिनटमा किम योङ ग्वानले कोरियाका लागि बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला कप्तान ह्युङ मिन–सोनको सोलो पासमा ह्वाङ हि चानले इन्जुरी समयमा दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक र महत्वपूर्ण जित दिलाए ।

यो जितपछि ४ अंक जोडेको कोरिया समूह एचको दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो । शुक्रबार राती सोही समूहमा रहेको उरुग्वेले घानामाथि २–० को जित निकाल्दै ४ अंक जोडे तापनि राम्रो गोल भिन्नताका आधारमा कोरियाभन्दा पछि पर्न पुग्यो ।

उता कोरियासँग हारे तापनि यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको पोर्चुगल ६ अंकका साथ समूह विजेता बन्यो । पुछारमा भने ३ अंक जोडेको घाना रहयो । र उरुग्वेसँगै समूह चरणबाटै बाहिरिन बाध्य बन्यो ।

दक्षिण कोरियाले नकआउट चरणमा समूह जी को विजेतासँग खेल्नेछ । सम्भवत कोरियाको प्रतिद्वन्द्वी ब्राजील हुने सम्भावना प्रवल छ । त्यस्तै पोर्चुगलले भने सोही समूहको उपविजेतासँग खेल्नेछ । समूह उपविजेताको होडमा क्यामरुन, स्वीजरल्याण्ड र सर्बिया रहेका छन् ।

 

 

Post Comments