News लिग निर्धारित मिति मै शुरु हुनेमा अन्यौल
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो पुष २६ गतेदेखि बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग शुरु गर्ने घोषणा गरेको थियो । लिग डबल राउण्ड रोबिनका साथ उपत्यका बाहिर आयोजना गर्ने घोषणा पनि एन्फाले गरेको थियो ।

तर अहिले आएर लिग तोकिए कै मितिमा शुरु हुनेमा अन्यौलता थपिएको छ । एन्फाले लिगमा सहभागिता जनाउने क्लबहरुलाई दिने तयारी रकम लगायत आवश्यक खर्चहरु निर्धारित समय मै उपलब्ध नगराएपछि लिग नहुने अन्यौलता थपिएको हो ।

एन्फा र क्लबहरुबीच यहि मंसिर १५ गतेसम्म तयारी खर्चबापतको रकम र अन्य बाँकी रकम दिने सहमति भएको थियो । तर त्यो रकम क्लबहरुले अहिलेसम्म पाएका छैनन् ।

एन्फाले यसपटक तयारी खर्चमा बृद्धि गरेर प्रत्येक क्लबलाई ३२ लाख ५० हजार दिने घोषणा गरेका थियो । लिग खेल्न कै लागि आवश्यक तयारी गर्न खर्च नभएपछि लिग सञ्चालन निर्धारित मिति मै अनिश्चित बनेको हो ।

त्यसबाहेक एन्फाले लिग आयोजनाका लागि आवश्यक तयारी र पुर्वाधारबारे पनि यकिन निर्णय नलिइएको बताईन्छ । घरेलु फुटबल ठप्प जस्तै रहेका बेला नेपाली फुटबल कै मेरुदण्डका रुपमा रहेको लिग आयोजना पनि अन्यौल बनेपछि खेलाडीहरु अझै मारमा पर्ने देखिन्छ । त्यसको प्रत्यक्ष नकरात्मक असर नेपाली फुटबल मै पर्ने धेरैको बुझाई छ ।

Post Comments