News विश्वकपमा ब्राजीललाई हराउने क्यामरुन पहिलो अफ्रिकी टोली
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी कतार विश्वकपको समूह चरणको अन्तिम खेलमा क्यामरुनले दावेदार मानिएको ब्राजीललाई शुक्रबार अबेर राती १–० ले हरायो । समूह जी तर्फको यो जित क्यामरुनका लागि ऐतिहासिक बने पनि टोलीले नकआउट चरणको यात्रा तय गर्न भने सकेन ।

खेलको अन्तिमतिर भिन्सेन्ट अबुबकरले क्यामरुनी टोलीका लागि एक मात्र गोल गरे । त्यो गोल विश्वकपमा ब्राजीललाई हराउन निर्णायक र ऐतिहासिक बन्यो । अर्थात फिफा विश्वकपमा ब्राजीललाई हराउने क्यामरुन पहिलो अफ्रिकी देश बन्यो ।

त्यो गोलको खुशीयाली अबुबकरले जर्सी खोलेर मनाए । नियम विपरित त्यसो गरेपछि उनले पहेंलो कार्डको सामना पनि गरे । खेलमा लगातार दोस्रो पहेंलो कार्ड खाएपछि अबुबकर अन्तिमतिर मैदान छाड्दा बाध्य बने । तर त्यसले टिमको नतिजालाई असर भने परेन ।

यद्यपि त्यो ऐतिहासिक जित क्यामरुनलाई नकआउट चरणमा पुर्याउन प्रर्याप्त बनेन । हारका बावजुद ३ खेलबाट ६ अंक जोडेको ब्राजील राम्रो गोलभिन्नताका आधारमा समूह जी को शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो । सोही समूहमा रहेको स्वीजरल्याण्डले सर्बियालाई ३–२ ले हराएपछि समान ६ अंकका साथ दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो ।

क्यामरुन ४ अंकका साथ तेस्रो स्थानमा रहँदा १ अंक मात्र जोडेको सर्बिया पुछारमा रह्यो । नकआउट चरणमा ब्राजीलले दक्षिण कोरियाको सामना गर्नेछ भने स्वीजरल्याण्डले पोर्चुगलसँग खेल्नेछ ।

 

Post Comments