News खेलाडी संघको एन्फालाई ध्यानाकर्षण (पत्रसहित)
गोलनेपाल

काठमाडौं । फुटबल खेलाडीहरुको छाता संगठन अखिल नेपाल फुटबल खेलाडी संघले हालैका दिनहरुमा बाहिर आएका विभिन्न घट्नाक्रमबारे अवगत गराउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण गराएको छ ।

“फुटबल संघ र क्लबहरुबीचको असमझदारीका कारण लिग फेरि पनि तोकिएकै समयमा हुने वा नहुने अन्यौलको संघारमा रहेको कुरा खेलाडीहरु माझ आएकोले यसबारे हामी गम्भिर रहेको कुरा जानकारी गराउँदछौं ।” खेलाडी संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

स्मरण रहोस, एन्फाले आउँदो पुष २६ गतेदेखि बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने मिति घोषणा गरेको थियो । डबल राउण्ड रोबिनका आधारमा हुने लिग उपत्यका बाहिर गर्ने योजनामा पनि एन्फा रहेको जानकारी गराएको थियो । साथै क्लबहरुलाई आवश्यक तयारी खर्च पनि बृद्धि गरि दिने घोषणा पनि भएको थियो ।

तर तोकिएको समयसम्म पनि एन्फाले क्लबहरुलाई आवश्यक तयारी वापतको रकम उपलब्ध नगराएको भन्दै लिगमा सहभागिता जनाउने क्लबहरुले तोकिएकै मिति लिग नहुने बताएपछि ए डिभिजन लिग फेरि सर्ने हो कि भन्ने अन्यौलता थपिएको छ । यहि कुरालाई मध्यनजर गर्दै खेलाडी संघले एन्फालाई ध्यानाकर्षण पत्र बुझाएको हो

खेलाडी संघले फुटबल नहुँदा खेलाडी र क्लब मात्र नभएर सिंगो देश कै फुटबललाई असर गर्ने भएको हुँदा सबै असमझदारी र विवादलाई सुल्झाएर खेलाडीहरु र सम्बन्धित क्लबहरुको मागलाई सम्वोधन गरि फुटबल खेल्ने माहौल सिर्जना गरिदिन एन्फासमक्ष आग्रम समेत गरेको छ ।

सो अवसरमा खेलाडी संघको तर्फबाट बिकेश कुथु, बिक्रम लामा, सुजल श्रेष्ठ, अन्जन बिष्ट, अनन्त तामाङ लगायतका खेलाडीहरुले संयुक्त रुपमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रत्यक्ष भेटघाट गरि आवश्यक छलफलका साथ ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Post Comments