News पुरुषमा अजम्बरी र महिलामा आनी साक्थिम च्याम्पियन
गोलनेपाल

फिदिम । दोस्रो चासो तङनाम कप खुला पुरुष तथा महिला फुटबल प्रतियोगिताको पुरुषतर्फ अजम्बरी एफसी र महिलातर्फ आयोजक आनी साक्थिम क्लब विजेता बनेको छ ।

कांसोरे खेलमैदानमा भएको पुरुष फुटबलको फाइनलमा अजम्बरीले ब्वाईज युनियन क्लबलाई ३–१ ले हरायो । अजम्बरीको जितमा निर्देश राई, प्रकाश राई र लक्ष्मण राईले गोल गरे । उता ब्वाईज युनियनका लागि बिक्रम राईले एक मात्र गोल फर्काए ।

व्यक्तिगत विधातर्फ अजम्बरीका मिरक लिम्बु उत्कृष्ट गोलरक्षक बन्दा अजम्बरी कै प्रकाश धमला उत्कृष्ट डिफेन्डर चुनिए । सर्वाधिक गोलकर्ता पनि अजम्बरी कै प्रकाश राई बन्दा सर्वोत्कृष्ट खेलाडी ब्वाईज युनियनका रोशन धिमाल चुनिए । सबैले जनही ट्रफीसहित नगद २–२ हजार पारे ।

विजेता बनेको अजम्बरीले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता ब्वाईज युनियनले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

मनिताको ह्याट्रिकमा आयोजकलाई उपाधि

त्यस्तै महिला फुटबलको फाइनलतर्फ आयोजक आनी साक्थिम क्लबले याङनाम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । आयोजकको जितमा मनिता तुमरोकले ह्याट्रिक गरिन् ।

व्यक्तिगत विधातर्फ आयोजककी अरुणा लिम्बु उत्कृष्ट गोलरक्षक बन्दा आयोजक कै एलेक्स चौधरी उत्कृष्ट डिफेन्डर बनिन् । आयोजक कै मनिता तुमरोकले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा याङनामकी सोनम राई सर्वोत्कृष्ट खेलाडी चुनिईन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १–१ हजारसहित ट्रफी हात पारे ।

विजेता बनेको आयोजक आनी साक्थिमले उपाधिसहित नगद २५ हजार हात पार्दा उपविजेता याङनामले १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

आनी साक्थिम क्लब, फिदिम, पाँचथरको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments