News रेडहर्ष इलाम सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु बिर्तामोड युनाइटेड इण्डो-नेपाल च्यालेन्ज कप फुटबलमा इलामको रेडहर्ष एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङको डाँगीहाट एफसीलाई २-१ गोलअन्तरले पराजित गर्दै रेडहर्ष एफसी इलाम अन्तिम चारमा प्रवेश गरेको हो । इलामका लागि सौरभ लिम्बूले खेलको २२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, डाँगीहाट एफसीका लागि खेलको ४४औँ मिनेटमा अरुण लिम्बूले गोल गर्दै बराबरी गरेका थिए । 

तर, इलामका लागि विशाल खवासले ४६औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । उनले सौरभ लिम्बूको क्रस पासमा गोल गरेका थिए । 

खेलको म्यान अफ दी म्याच इलामका सौरभ लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । शनिबार सुनसरीको धरान सिटी एफसी र एपीएफ क्लब पकलीबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यसअघि आयोजक बिर्तामोड युनाइटेड एफसी र सुनाकोठी सिटी एफसी काठमाडौँले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ । खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

Post Comments