News सहज जितका साथ धरान सिटी सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । शानदार जित निकाल्दै धरान सिटी एफसी सुनसरीले यहाँ आयोजित बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको खेलमा धरानले एपीएफ पकली सुनसरीलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा धरानका लागि मिलन राईले ह्याट्रिकसँगै व्यक्तिगत चार गोल गरे । पहिलो हाफमै धरानका मिलन राईले चार गोल गरेका हुन् । 

एकोहोरो दबाब सिर्जना गरेको धरानका लागि मिलनले खेलको ६ मिनेटमै गोल गरेका थिए । उनले पहिलो हाफको ८ र २७औँ मिनेटमा ह्याट्रिक पूरा गरे । उनको ह्याट्रिक प्रतियोगिताको पहिलो ह्याट्रिक हो । 

यस्तै, खेलको ३६औँ मिनेटमा मिलन राईले व्यक्तिगत चार गोल गरे । यो अहिलेसम्मकै व्यक्तिगत सर्वाधिक गोल हो । दोस्रो हाफमा सम्हालिएको एपीएफले खेलको ६८औँ मिनेटमा गोल फर्कायो । एपीएफका उज्वल चाम्लिङले उत्कृष्ट गोल गरे पनि खेलमा फर्किन भने सकेन । 

सर्वाधिक चार गोल गरेका धरानका मिलन राई म्यान अफ दी म्याच बने । उनलाई बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा र फुटबलप्रेमी युवा बिक्की चौधरीले नगद २ हजार ५ सय प्रदान गरे । 

भोलि ललितपुरको सुनाकोठी सिटी एफसीले इलामको रेडहर्ष एफसीसँग फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेल खेल्नेछ । त्यस्तै, धरानले आयोजक बिर्तामोड युनाइटेड एफसीको सामना गर्ने पक्का भएको छ । 

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ । खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

Post Comments