News रेडहर्ष उपाधि नजिक
रमेश समदर्शी

बिर्तामोड । उत्कृष्ट पुनरागमन गर्दै इलामको रेडहर्ष एफसी यहाँ जारी एनी प्रथम बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधिको दाबेदार ललितपुरको सुनाकोठी सिटी एफसीलाई पराजित गर्दै इलामले बाजी मारेको हो । 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरलाई ३-२ गोलअन्तरले पराजित गर्दै इलाम उपाधि नजिक पुगेको हो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । जितसँगै इलामले कम्तिमा १ लाख ११ हजार सुरक्षित गरेको छ । 

आजको खेलमा पहिलो गोल भने ललितपुरले गरेको थियो । खेलको ४८औँ मिनेटमै ललितपुरका राजीव लामाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ५८औँ मिनेटमा मिलन राईले गोल गर्दै इलामलाई बराबरीमा ल्याइपुराएका थिए । उत्कृष्ट पुनरागमनसँगै इलाम लयमा फर्किएको थियो । 

खेललाई बराबरीमा पुराएको इलामले त्यसपछि आक्रामक खेल प्रस्तुत गर्यो । पहिलो गोल गरेको २ मिनेटमै इलामका युवराज राईले गोल गरेर २-१ को स्थितिमा ल्याउँदै अग्रता दोब्बर बनाए । उनी परिवर्तित खेलाडी हुन् । 

यस्तै, इलामकै लागि सौरभ लिम्बूले खेलको ७०औँ मिनेटमा गोल गर्दै ३-१ गोलको फराकिलो अन्तर निकाले । तर, ७५औँ मिनेटमा ललितपुरका पविर्ति खेलाडी सविन मगरले गोल गरेर गोल संख्याको दूरी कम गरे । ललितपुरका लागि रेजिन सुब्बा, मनिष थापा, शिशिर लेखीजस्ता खेलाडी भए पनि जित निकाल्न सकेनन् र टोली घर फर्कियो । 

खेलको म्यान अफ दी म्याच पुनरागमन गराएका इलामका मिलन राई घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र फुटबलर दिनेश चौधरीले नगद २ हजार ५ सय तथा ट्रफी प्रदान गरे । 

भोलिको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लब र सुनसरीको धरान सिटी फुटबल क्लबले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । 

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ ।

Post Comments