News चन्द्रपुर र चौदण्डीगढी सेमिफाइनलमा
गोलनेपाल

रौतहट । घरेलु टोली चन्द्रपुर नगरपालिका, रौतहट र चौदण्डीगढी नगरपालिका, उदयपुर जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यी दुवै टोली समूह ए बाट क्रमशः समूह विजेता र उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । साथै सेमिफाइनलमा प्रवेश गरेसँगै यी दुई टोली राष्ट्रिय महिला लिगको अन्तिम चरणका लागि समेत छनौट भएका छन् । जहाँ तीन विभागीय टोली र यस प्रतियोगिताबाट छनौट हुने चार टोली गरी कुल सात टोली निर्णायक लिग उपाधिका लागि भिड्ने छन् ।

मंगलबार चन्द्रपुर–६, रौतहट स्थित शेरबहादुर दर्लामी समृति खेलमैदानमा भएको समूह ए तर्फको अन्तिम खेलमा चन्द्रपुरले बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकलाई ५–२ ले हरायो । खेलमा चन्द्रपुरकी सबिता राना मगर वुमन अफ द म्याच घोषित भईन् ।

त्यसअघि मंगलबार नै भएको पहिलो खेलमा चौदण्डीगढीले बिदुर नगरपालिका, नुवाकोटलाई ५–० को फराकिलो अन्तरले हरायो । खेलमा चौदण्डीगढीकी अनुष्का शेर्पा वुमन अफ द म्याच घोषित भईन् ।

समूह ए को सबै खेल समाप्तीसम्म अपराजित रहेको घरेलु टोली चन्द्रपुर ३ खेलबाट ९ अंकका साथ शिर्ष स्थानमा रह्यो । त्यस्तै ५ अंक जोडेको चौदण्डीगढी दोस्रो स्थानमा रह्यो भने ४ अंकका साथ बाह्रबिसे तेस्रो तथा अंकविहीन बिदुर पुछारमा रह्यो ।

साथै मंगलबारको खेलसँगै समूह ए बाट बाह्रबिसे नगरपालिका र बिदुर नगरपालिका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।

Post Comments