News आयोजक नमूनालाई उपाधि
रमेश समदर्शी

झापा । झापाको अर्जुनधारामा सम्पन्न दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि नमुना एफसीले चुमेको छ । अर्जुनधारा नगरपालिकाको ९ नम्बर वडास्थित नमुना खेलमैदानमा भएको आजको फाइनल खेलमा आयोजक नमुना एफसीले उपाधि चुमेको हो ।

 नेपाल टुरमा रहेको भुटनिज युथ स्पोर्टस क्लब (बीवाइएससी) अमेरिकालाई रोक्दै आयोजक नमुना एफसी विजेता बनेको हो । आजको फाइनल खेलमा आयोजकले बीवाइएससीलाई सडनडेथमा ८-७ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । 

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर रोजिएको थियो । सडनडेथमा बीवाइएससीका देश्वान पेटरसन र डिएलोको प्रहार आयोजकका गोलरक्षक मनोज प्रधानले रोकेको थिए भने आयोजकका सौरभ सुब्बाको प्रहार बीवाइएससीका गोलरक्षक पुजन थापामगरले रोकेका थिए । 

फाइनल खेलको म्यान अफ दी म्याच आयोजकका पेमा तामाङ घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताका बेस्ट फरवार्ड बीवाइएससीका धिरज थाजाली, बेस्ट मिड फिल्डर आयोजकका पुजन उपरकोटी, बेस्ट डिफेन्डर बीवाइएससीका हेक्टोर र बेस्ट किप्पर आयोजकका मनोज प्रधान घाषित हुँदा राइजिङ प्लेयर आयोजकका सौगात गोम्देन घोषित भए । उनीहरुले जनही नगद पाँच पाँच हजार पाए । 

प्रतियोगिताभरिका उत्कृष्ट खेलाडी आयोजकका देवेन्द्र तामाङ घोषितहुँदै नगद १५ हजार पाए । प्रतियागिताको आयोजना नमुना सामुदायिक युवा क्लबले गरेको हो । विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १११ रुपैयाँ र ट्रफी पाएका छन् ।

Post Comments