News माया युनिभर्स र आयोजक सेन्ट जेभियर्स सेमिफाइनलमा
गोलनेपाल

ललितपुर । माया युनिभर्स एकेडेमी, तनहुँ र आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुर जारी २५औं फादर मोरान अन्तरविद्यालय आमन्त्रित फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा माया युनिभर्सले तेस्रो क्वाटरफाइनलतर्फ भक्तपुर निस्ट स्कुल, भक्तपुरलाई ६–१ को फराकिलो अन्तरले हरायो । माया युनिभर्सको जितमा इबास बिकले ह्याट्रिकसहित चार गोल गरे । अमिर दुराले एक गोल गरे भने थप एक गोल स्यारोन कटुवालले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता भक्तपुरले पनि एक मात्र गोल आत्मघाती गोलका रुपमा उपहार पाएको थियो । माया युनिभर्सका सुप्रम मगरले आत्मघाती गोल गर्न पुगेका थिए । खेलमा माया युनिभर्सका इबास बिक म्यान अफ द म्याच चुनिए ।

त्यस्तै चौथो क्वाटरफाइनलमा आयोजक सेन्ट जेभियर्सले लिटल एन्जल्स स्कुललाई टाईब्रेकरमा ३–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ सेन्ट जेभियर्सका लागि सन्देश टुडुले दुवै गोल गरे । उता लिटल एन्जल्सका लागि दुवै गोल स्मित रावतले गरे । खेलमा सेन्ट जेभियर्सका थाङसाङ सावा म्यान अफ द म्याच चुनिए ।

आयोजकका अनुसार सेमिफाइनल खेल शनिबारदेखि शुरु हुनेछन् । सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुरको आयोजनामा जारी प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments