News सहज जितका साथ एभनिर सेमिफाइनलमा
रमेश समदर्शी

दमक । उपाधिको दावेदार मध्ये एक एभनिर एफसी, क्यामरुन जारी प्रथम जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलडागी फुटबल खेलमैदानमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा एभनिरले घरेलु टोली बिवाइसी, झापामाथि ५–० को एकतर्फी जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको तेस्रो मिनटमै जिनीको गोलबाट एभनिरले शुरुवाती अग्रता बनाएको थियो । १७औं मिनटमा टिम्बा टिम्बाले दोस्रो गोल थपे भने २२औं मिनटमा स्टेफनले त्यो अग्रता तेब्बर पारे । त्यस्तै दोस्रो हाफको अन्तिमतिर ७८ र ७९औं मिनटमा सोङले लगातार दुई गोल गर्दै अफ्रिकी टोलीको जित सुनिश्चित गरे ।

खेलमा एभनिरका स्टेफन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष ९ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल बी.वाई.एस.सी., अमेरिका र युके एफसी, दार्जिलिङ, भारतबीच हुने आयोजकले जानकारी दियो ।

स्व. जय हुमागाई एण्ड फेमिली ट्रष्ट, अमेरिकाको आयोजना तथा भुटानिज युथ क्लब, झापाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष १३ गतेका दिन हुनेछ ।

 

Post Comments