News बिवाईएससी सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

दमक । पाहुना टोली बिवाईएससी, अमेरिका यहाँ जारी प्रथम स्व. जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ ।

शनिबार सम्पन्न चौथो क्वाटरफाइनलमा बिवाईएससीले अर्को पाहुना टोली युके एफसी, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि बेलडागी फुटबल मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता युके एफसीले बनाए पनि त्यसलाई जोगाउन नसक्दा अन्ततः खेल नै गुमाउन पुग्यो ।

१९औं मिनटमा हेमराज भुजेलको गोलबाट युके एफसीले खेलमा अग्रता लिएको थियो । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा थोमस साकोरले बिवाईएससीका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

खेलमा बिवाईएससीका गोलरक्षक पुजन थापा मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष १० गते आइतबारको पहिलो सेमिफाइनल खेल एभनिर एफसी, क्यामरुन र सहलेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जनाएको छ ।

स्व. जय हुमागाई एण्ड फेमिली ट्रष्ट, अमेरिकाको आयोजना तथा भुटानिज युथ क्लब, झापाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष १३ गतेका दिन हुनेछ ।

Post Comments