News उत्कृष्ट जितका साथ अभिषेक चर्च क्वाटरफाइनलमा
सुरज राना मगर

बसही । उत्कृष्ट जित हात पार्दै अभिषेक चर्च, रजहर यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ अभिषेक चर्चले जनज्योति क्लब, डिंगरनगरलाई ५–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सरावल–१ स्थित बसही रंगशालामा भएको खेलमा अभिषेक चर्चका लागि मन बहादुर मगरले ह्याट्रिक गरे । त्यस्तै संजोग महर्जन र रवि क्षेत्रीले थप एक–एक गोल गरे ।

उता पराजित जनज्योतिका लागि रेशम थापा मगरले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा ह्याट्रिक गरेका अभिषेक चर्चका मन बहादुर मगर म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत पौष १९ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल राष्ट्रिय युवा संघ नेपाल, नवलपरासी र डि युनिटी क्लब, खैरेनीबीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युवा क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments