News दोस्रो जेनिथ कप : जनशक्ति युवा क्लब अन्तिम चारमा प्रवेश
गोलनेपाल

सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा जनशक्ति युवा क्लब, सुनवल–१३ बडेरा र योङ बोईज एफसी, खैरेनी, रुपन्देहीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जनशक्ति युवा क्लबले ५–१ को शानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ।

जनशक्तिको जितमा मिलन आले मगरले दुई गोल गर्दै टोलीलाई मजबुत अग्रता दिलाए भने रोशन थापा र नबिन महतोले एक–एक गोलको योगदान दिए। बाँकी एक गोल योङ बोईज एफसीबाट भएको आत्मघाती गोलका कारण थपिएको हो। पराजित टोली योङ बोईज एफसीका तर्फबाट अस्मित शर्माले एक गोल गरेका थिए।

खेलभर आक्रामक र संगठित प्रदर्शन गरेको जनशक्ति युवा क्लबले विपक्षीमाथि दबाब कायम राख्दै खेललाई आफ्नो पक्षमा ल्याएको थियो। उत्कृष्ट प्रदर्शनका लागि जनशक्ति युवा क्लबका आशिष पुन मगर आजको उत्कृष्ट खेलाडी घोषित भए।

माघ २७ गतेको अन्तिम क्वाटरफाइनल खेलमा डि युनिटी एफसी, खैरेनी, रुपन्देही र युनाइटेड युवा क्लब, हुप्सेकोट, नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ्।

Post Comments