सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलबाट साविक विजेता जेनिथ युथ क्लब, सुनवल–३ किर्तिपुर–१ फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको छ।
जनशक्ति युवा क्लब, सुनवल–१३ बडेराविरुद्ध भएको खेल निर्धारित समयभर १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। टाइब्रेकरमा जेनिथ युथ क्लबले ७–६ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो।
खेलको पहिलो हाफको २४औं मिनेटमा कप्तान निखिल पुन मगरले गोल गर्दै जेनिथलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि २८औं मिनेटमा जनशक्तिका सन्दिप थारुले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन। खेल निकै कडा र रोमाञ्चक बनेको थियो। उत्कृष्ट प्रदर्शन गरेका जेनिथ युथ क्लबका कप्तान निखिल पुन मगर आजको खेलको उत्कृष्ट खेलाडी घोषित भए।
भोलि माघ २९ गते दोस्रो सेमिफाइनल खेल राईजिङ स्टार एफसी, सुनवल–१२ भुमही र युनाइटेड युवा क्लब, हुप्सेकोट, नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ्।
