सुनवल । जेनिथ युथ क्लब, सुनवल–३, नवलपरासीको आयोजनामा सम्पन्न दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक जेनिथ युथ क्लबले नै जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा जेनिथले युनाइटेड युवा क्लब, गिरुवारीले ३–१ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । जेनिथको जितमा कप्तान निखिल पुन मगरले ह्याट्रिक गरे भने पराजित युनाइटेडका लागि नबिन थापा मगरले एक मात्र गोल फर्काएका थिए ।
विजेता बनेको जेनिथले उपाधिसहित नगद १ लाख २० हजार हात पार्यो भने उपविजेता युनाइटेडले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । ह्याट्रिक गरेका जेनिथका कप्तान निखिल पुन फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि निखिलले नै हात पारे ।
त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक जेनिथ कै अनुप राना बन्दा उत्कृष्ट डिफेन्डर पनि जेनिथ कै सुजल क्षेत्री चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने युनाइटेडका सन्दिप मल्ल ठकुरी घोषित भए ।
आयोजक जेनिथका सचिव संसार मगरको सञ्चालनमा सम्पन्न भएको समापन कार्यक्रमका विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, आयोजक जेनिथ क्लबका अध्यक्ष निकेश गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।