News एनआरटीबाट अलग भए राजेश
गोलनेपाल

काठमाडौं । नेपालको उमेर हरेक उमेर समूहमा खेल्दै यु–२३ फुटबल टोलीबाट सागमा स्वर्ण जितेका युवा फरवार्ड राजेश परियारले आफूलाई प्लेटफर्म दिएको क्लब न्युरोडटिम (एनआरटी) बाट अलग हुने निर्णय गरेका छन् । राजेशले आफ्नो सामाजिक सञ्जाल मार्फत एनआरटीबाट अलग भएको घोषणा गरेका हुन् ।

“२०१८ बाट शुरु भएको यात्रा ५ वर्षपछि न्युरोडटिमसँग समाप्त भएको छ । यो अवसर प्रदान गरेकोमा क्लबलाई धन्यवाद दिन चाहन्छु ।” राजेशले आफ्नो फेसबुक वालमा एनआरटी छाडेकोबारे जानकारी गराउन लेखेका छन् । “मेरो सबै साथीहरु र व्यवस्थापकहरुलाई हृदयदेखि धन्यवाद ।”

करिब ५ वर्ष एनआरटीमा बिताउने क्रममा उनले क्लबका लागि थुप्रै प्रतियोगिताहरु खेले, लिगमा पनि खेले र क्लबका लागि सक्दो प्रयास गरेको पनि उनले बताए । राजेश भन्छन्, “फुटबलमा मलाई एउटा राम्रो प्लेटफर्म एनआरटीले दियो । क्लबप्रति म सधै आभारी रहनेछु ।”

एनआरटीका लागि खेल्दै गर्दा उनले लोनमा बीबीसी, मनाङ र मच्छिन्द्र जस्ता क्लबहरुबाट पनि खेल्ने भ्याएका थिए । एनआरटीसँगको सहयात्रालाई उनी अविस्मरणीय मान्छन् ।

साथै यो अवस्थामा आएर क्लबसँगको सहकार्य छोड्छु भन्ने नसोंचेको राजेश बताउँछन् । उनी अगाडी भन्छन्, “यो क्लब (एनआरटी) प्रतिको माया मँ शब्दमा वर्णन गर्न सक्दिन । क्लबको प्रतिनिधित्व गर्न पाउँदा निकै खुशी लाग्यो । आउने दिनहरुमा एनआरटीको उज्ज्वल भविष्यको कामना गर्दछु ।”

राजेका अनुसार नयाँ सिजनका लागि केही क्लबहरुबाट प्रस्ताव आए पनि आफूले अहिले नै हतारमा निर्णय नलिने बताए । उनी भन्छन्, “ नयाँ क्लबका लागि अहिले हतारमा सोच्ने निर्णय गरेको छैन । केही समय पर्खेर विचारसहित निर्णय गर्नुपर्ला ।”

Post Comments