News प्रथम वालिङ गोल्डकप पौष ३० देखि (खेलतालिका)
सुरज राना मगर

वालिङ । फुटबलसँगै विभिन्न सामाजिक कार्यमा पनि आफूलाई सक्रिय राखेको वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जाको आयोजनामा आउँदो पौष ३० गतेदेखि प्रथम वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।

वालिङ–८ स्थित वालिङ स्टेडियममा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

प्रतियोगितामा ए डिभिजन क्लब, एक विदेशी टोली र मोफसलका लागि गरी कुल ८ टोलीहरुको सहभागिता रहनेछ । उद्घाटन खेलमा आयोजक वालिङ युनाइटेड (रातो) र लिस्नु युवा क्लब, रुपन्देही भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख पाउनेछ भने उपविजेताले २ लाख ५० हजार पाउने खेल संयोजक केशर थापाले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक थापाले जानकारी दिए ।

संयोजक केशर थापाका अनुसार प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य फुटबलको माध्यमबाट वालिङ र समग्र स्याङ्जाका साथै स्याङ्जाली फुटबलको प्रचार, प्रसार र प्रवद्र्धन गर्नु तथा आउँदो युवा पिढीहरुका लागि जिल्लामा फुटबलको राम्रो जग बसाल्नु रहेको बताए ।

“यहाँ राम्रा युवा खेलाडीहरु छन् । गोल्डकप जस्तो प्रतियोगिता आयोजनाले यहाँ निरन्तरता पाउँदै गएपछि फुटबलको माहौल बन्छ र युवा खेलाडीहरुलाई आउने दिनहरुमा फुटबल मै लाग्न प्रेरित पनि गर्छ । त्यसो हुँदा जिल्लामा राम्रा खेलाडीहरुको क्षमता पहिचान हुनेछ र फुटबलमा लाग्न उनीहरुलाई थप हौसला पनि मिल्नेछ ।

स्मरण रहोस, वालिङले राष्ट्रिय फुटबलमा नयाँ र पुराना गरी थुप्रै चर्चित खेलाडीहरु उत्पादन गरिसकेको छ । हाल चल्तीमा रहेका लक्ष्मण रुचाल, सुवास गुरुङ, विश्वास श्रेष्ठ, राजन गुरुङ जस्ता खेलाडीहरु पनि वालिङ कै उत्पादन हुन् । र उनीहरु अझै फुटबल मै लागेर वालिङ र समग्र स्याङ्जालाई दशैभरि फुटबलको ‘हब’ बनाउन व्यस्त छन् ।

Post Comments