News वालिङ गोल्डकप शुरु, वालिङ (रातो) को विजयी शुरुवात
गोलनेपाल

वालिङ । वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जाको आयोजनामा शनिबारदेखि शुरु प्रथम वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक वालिङ (रातो) ले विजयी शुरुवात गरेको छ ।

वालिङ नगरपालिका वार्ड नम्बर ८ स्थित वालिङ रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोली वालिङ (रातो) ले लिस्नु युवा क्लब, रुपन्देहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलको दोस्रो हाफतर्फ आठौं मिनटमा सकुल गुरुङ्गले गरेको एक मात्र गोल वालिङ (रातो) लाई जित दिलाउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता सकुल गुरुङ्ग नै म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ४ हजार र आकर्षक गिफ्ट ह्याम्पर हात पारे ।

यो जितसँगै वालिङ (रातो) सेमिफाइनलमा समेत प्रवेश गरेको छ । वालिङ (रातो) ले सेमिफाइनलमा माघ ३ गतेका दिन हुने अन्तिम क्वाटरफाइनलतर्फ एभनिर एफसी, क्यामरुन र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं बीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत माघ १ गतेको दोस्रो क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब, काठमाडौं र केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवनबीच हुने खेल संयोजक केशर थापाले जानकारी दिए ।

वालिङ नगरपालिका, स्याङ्जाको विशेष सहयोग रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ७ गतेका दिन हुनेछ ।

Post Comments