News अभिषेक चर्चलाई पाँचौं सरावल अध्यक्ष कपको उपाधि
सुरज राना मगर

बसही । यहाँ सम्पन्न पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च, रजहरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा अभिषेक चर्चले फोर ब्रदर्श एफसी, नवलपरासीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

सरावल–१, स्थित बसही रंगशालामा भएको प्रतिस्र्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टी शुटआउटमा भने अभिषेक चर्चले नतिजा आफ्नो पाक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।

अभिषेक चर्चका गोलरक्षक अनुप राना फाइनल खेलको म्यान अफ द म्याच चुनिए । त्यसवापत उनले नगद १५ सय र ट्रफी हात पारे । विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता फोर ब्रदर्शले नगद १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ अभिषेक चर्चका राज भुषाल सर्वोत्कृष्ट खेलाडी बने । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक नेपालगञ्ज–११ का प्रदिप भण्डारी चुनिए भने उत्कृष्ट डिफेन्डर फोर ब्रदर्शका रन्जित चौधरी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फोर ब्रदर्श कै फागुराम चौधरीले हात पारे । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, विशिष्ट अतिथी सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन, खेल संयोजक उत्तर कुमार थारु लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

सरावल गाउँपालिका, नवलपरासीको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा गत पौष १६ गतेदेखि शुरु प्रतियोगितामा कुल १५ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments