News एपिएफ वालिङ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

वालिङ । सशस्त्र प्रहरीको एपिएफ क्लब, यहाँ जारी प्रथम वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा केबिए ग्लोबल भरतपुर एफसीलाई २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

वालिङ नगरपालिका–८ स्थित वालिङ रंगशालामा भएको खेलको १३औं मिनटमा मनिष खड्काको गोलबाट एपिएफले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५८औं मिनटमा सबिन गुरुङले त्यो अग्रता दोब्बर पारे । जुन गोल खेलको निर्णायक गोल पनि बन्न पुग्यो । उता खेलको इन्जुरी समयमा भरतपुरका लागि रोशन क्षेत्रीले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा एपिएफका कप्तान सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार हात पारे । प्रतियोगिता अन्तरगत माघ २ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल वालिङ (निलो) र सहारा क्लब, पोखराबीच हुने खेल संयोजक केशर थापाले जानकारी दिए ।

वालिङ युनाइटेड एफसी, वालिङ स्याङ्जाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ७ गतेका दिन हुनेछ ।

Post Comments