News आयोजक वालिङ (निलो) पनि सेमिफाइनलमा
गोलनेपाल

वालिङ । आयोजक टोली वालिङ युनाइटेड एफसी (निलो) पनि यहाँ जारी प्रथम वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा वालिङ (निलो) ले सहारा क्लब, पोखरालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । स्मरण रहोस, आयोजक कै अर्को टोली वालिङ (रातो) ले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

सोमबार वालिङ नगरपालिका–८ स्थित वालिङ रंगशालामा भएको खेलमा दोस्रो हाफतर्फ १३औं मिनटमा टिकाराज गुरुङले गरेको एक मात्र गोल आयोजक टोलीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता टिकाराज गुरुङ नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ४ हजार र आकर्षक गिफ्ट ह्याम्पर हात पारे । वालिङ (निलो)ले सेमिफाइनलमा अब माघ ४ गतेका दिन एपिएफ क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत माघ ३ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंबीच हुने खेल संयोजक केशर थापाले जानकारी दिए ।

वालिङ युनाइटेड एफसी, स्याङ्जाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ७ गतेका दिन हुनेछ ।

Post Comments