News २३औं गोधुली कपः धरान १२ र १९ को जित
गोलनेपाल

धरान । यहाँ जारी प्रतिष्ठित टुबोर्ग २३औं गोधुली कप वार्डस्तरीय रनिङ्ग फुटबल प्रतियोगितामा धरान १२ र धरान १९ ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

धरान रंगशालामा सोमबार भएको पहिलो खेलमा धरान १२ ले धरान ८ लाई ४–१ को अन्तरले हरायो । खेलमा धरान १२ का हरि खवास म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

त्यस्तै दिनको दोस्रो खेलमा धरान १९ ले धरान ९ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । खेलमा धरान ९ का गोलरक्षक अर्जुन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

यो जितसँगै धरान १२ र धरान १९ प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत माघ ३ गते मंगलबारको पहिलो खेल धरान १८ र धरान १ बीच हुनेछ भने दोस्रो खेलमा धरान १६ र धरान १० भिड्ने छन् ।

गोधुली क्लब धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ १४ गतेका दिन हुनेछ ।

Post Comments