News आर्मीलाई हराउँदै एभनिर सेमिफाइनलमा
गोलनेपाल

वालिङ । अफ्रिकी टोली एभनिर एफसी, क्यामरुन यहाँ जारी प्रथम वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनलमा दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई १–३ ले हराउँदै एभनिर अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा दुवै तर्फबाट भएका चारै गोल पहिलो हाफमा सम्पन्न भए । खेलको २२औं मिनटमा एभनिरका लागि अब्डेलले पहिलो गोल गरे । २६औं मिनटमा टिम्बाले त्यो अग्रता दोब्बर पारे ।

यद्यपि पहिलो हाफ कै ४३औं मिनटमा दिनेश हेन्जनले आर्मीका लागि फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । पहिलो हाफ कै अतिरिक्त समयमा एभनिरका कप्तान आनिसेले तेस्रो गोल गर्दै अफ्रिकी टोलीको जित पक्का गरे ।

खेलमा एभनिरका अब्डेल म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ४ हजार र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । एभनिरले दोस्रो सेमिफाइनलतर्फ माघ ५ गतेका दिन आयोजक वालिङ युनाइटेड (रातो) सँग खेल्नेछ । त्यस्तै माघ ४ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक वालिङ युनाइटेड (निलो) र एपिएफ क्लब, काठमाडौंबीच हुने खेल संयोजक केशर थापाले जानकारी दिए ।

वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ७ गतेका दिन हुनेछ ।

 

Post Comments