News फोकस–१६ धरानलाई उपाधि
जनम बराल

चैनपुर । मिनी खेलकुद महोत्सव अन्तरगत यहाँ सम्पन्न स्व. सुर्य बहादुर सोम्याहाङ स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोकस–१६, धरान, सुनसरीले जितेको छ ।

संखुवासभाको चैनपुर–१०, खराङ्ग खाल्टेस्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा फोकस–१६ ले मिरमिरे युवा क्लब, तामाफोकलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको फोकस–१६ ले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पारेको छ भने उपविजेता मिरमिरेले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

महिला फुटबलमा याक्खा चोकलाई उपाधि

त्यस्तै महिला फुटबलतर्फको उपाधि भने याक्खा चोक फुटबल क्लब, माम्लिङ्गले जितेको छ । फाइनलमा याक्खा चोकले सयपत्री क्लब, मूलगाउँलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बनेको हो ।

महिलातर्फको विजेता याक्खा चोकले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता सयपत्रीले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

श्री किरण ज्योति क्लब, चैनपुर–१०, खराङ्ग खाल्टे, संखुवासभाको आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा आयोजक क्लबले विभिन्न सहयोगी संघसंस्था, व्यक्तित्वहरुलाई सम्मानित गर्दै आभार र धन्यवाद प्रकट गरेको थियो ।

Post Comments