खाँदबारी । मकालु फ्रेन्डस क्लब, खाँदबारी संखुवासभामा जारी तेस्रो तीनपोखरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा मकालु फ्रेन्डसले चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापालाई २–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । मकालुको जितमा जिवन मगर र सागर कटुवालले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि मकालु कै सागर कटुवाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २९ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल सेकाहा सामुदायिक विकास केन्द्र, संखुवासभा र सितलपाटी फुटबल क्लब, संखुवासभा बीच हुने आयोजकले जानकारी दियो ।
तीनपोखरी समाज विकास क्लब, तीनपोखरी, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।