खाँदबारी । चुलाचुली स्र्पोटिङ क्लब, दमक, झापा र सेकाहा सामुदायिक विकास क्लब, संखुवासभा यहाँ जारी तेस्रो तीनपोखरी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।
आइतबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चुलाचुलीले खाँदबारी युथ क्लब, संखुवासभालाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । चुलाचुलीको जितमा प्रमोद दर्जीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता दर्जी नै म्यान अफ दि म्याच बने ।
त्यस्तै आइतबार नै भएको दोस्रो खेल तथा चौथो क्वाटरफाइनलतर्फ सेकाहाले बेलका युथ क्लब, उदयपुरलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । सेकाहाको जितमा ध्रुव सुब्बाले दुई गोल गरे भने कृष्ण राईले अर्को एक गोल थपेका थिए । खेलमा दुई गोल गरेका सेकाहा ध्रुव सुब्बा म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत पुष २८ गते सोमबारको पहिलो सेमिफाइनल खेल मकालु फ्रेण्डस क्लब, खाँदबारी र चुलाचुली स्र्पोटिङ क्लब, झापा बीच हुने आयोजकले जानकारी दियो ।