News २४औं माडी गोल्डकप शुरु, केबिए ग्लोबल भरतपुरको विजयी शुरुवात
गोलनेपाल

बसन्तपुर । बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा शनिबारदेखि शुरु २४औं माडी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा केबिए ग्लोबल भरतपुर एफसीले विजयी शुरुवात गरेको छ ।

माडी–३, चितवन स्थित बसन्तपुर बजारको खुला मैदानमा भएको उद्घाटन खेलमा भरतपुरले बिरगंज युथ एकेडेमीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ भरतपुरका लागि अजित लामाले गोल गरेका थिए भने बिरगंजका लागि सुजल डंगोलले गोल गरेका थिए ।

टाईब्रेकरमा भने भरतपुरले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा भरतपुरका गोलरक्षक मनोज गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै भरतपुर प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ ८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल घरेलु टोली माडी–११ र काउन्ट्री साईड एकेडेमी, भक्तपुरबीच हुने आयोजकले जानकारी दियो ।

माडी नगरपालिका, चितवन मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ १४ गतेका दिन हुनेछ ।

Post Comments