News अभिषेक चर्च क्वाटरफाइनलमा
सुरज राना मगर

नर्सही । अभिषेक चर्च, रजहर यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुस्ता गाउँपालिका–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ अभिषेक चर्चले गौतम बुद्ध सामुदायिक प्रतिष्ठान, बर्दघाटलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा पराजित गौतम बुद्धका रिजन गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनलाई सुस्ता गाउँपालिका–४, नर्सहीकी महिला वार्ड सदस्य मुना पुनले पुरस्कृत गरिन् ।

प्रतियोगिता अन्तरगत माघ १४ गतेको पहिलो क्वाटरफाइनल खेल न्यु हिउचुली युवा क्लब, बोहिया र भूपू सैनिक क्लब, बुटवल बीच हुने प्रतियोगिता संयोजक सोमराज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको कार्यालय, नवलपरासीको आयोजना तथा वार्ड नम्बर ४, नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २१ गतेका दिन हुने प्रचार प्रसार संयोजक सरोज गुरुङ्गले बताए ।

Post Comments