News घरेलु टोली सुस्ता–११ सेमिफाइनलमा
सुरज राना मगर

नर्सही । संघर्षपुर्ण जितका साथ सुस्ता–११ यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनलतर्फ सुस्ताले फोर ब्रदर्श एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

त्यसअघि सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसपछि भएको पेनाल्टी शुटआउटमा भने घरेलु टोली सुस्ताले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

खेलमा सुस्ता–११ का गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच घोषित भए । उनलाई सुस्ता–४ नर्सहीकी दलित महिला सदस्य कुन्ती चमारले ट्रफीसहित पुरस्कृत गरेकी थिईन ।

प्रतियोगिता अन्तरगत माघ १६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल राइजिङ्ग स्टार, भुमही र भरतपुर–२४, चितवनबीच हुने प्रचार प्रसार संयोजक सरोज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा सुस्ता–४, नर्सही वार्ड कार्यालयको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार पाउने खेल संयोजक समराज गुरुङ्गले बताए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही माघ २१ गतेका दिन हुने पनि संयोजक गुरुङ्गले जानकारी दिए ।

Post Comments