News आयोजकलाई ४४औं हाङथुम कपको उपाधि
गोलनेपाल

मुलखर्क । यहाँ सम्पन्न ४४औं हाङथुम कप आमन्त्रित खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली हाङथुम क्लब, मादी–३, मुलखर्क, संखुवासभाले जितेको छ ।

सोमाबर मादी नगरपालिका–३, मुलखर्क स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा हाङथुमले विभागीय टोली नेपाल पुलिस क्लब, बिराटनगर, मोरङ्गलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको आयोजक हाङथुम क्लबले उपाधिसहित नगद १ लाख ५० हजार हात पारेको छ । त्यस्तै उपविजेता नेपाल पुलिस क्लब, मोरङले नगद ९० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

श्रीपञ्चमीको अवसर पारी हाङथुम क्लब, मादी नगरपालिका–३, मुलखर्क, संखुवासभाको आयोजनामा गत माघ १२ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

आयोजकले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने शुभेच्छुक, सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई समापन कार्यक्रमका दिन सम्मान गर्नुका साथै सबैलाई धन्यवाद र आभार समेत प्रकट गरेको थियो । साथै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग मिल्ने अपेक्षा समेत गरेका थिए ।

Post Comments