News आई लिगमा किरन र अन्जनको टोली रोमाञ्चक बराबरीमा रोकिए
गोलनेपाल

काठमाडौं (एजेन्सी) । भारतको चर्चित हिरो आई लिगमा व्यस्त नेपालका दुई स्टार खेलाडी किरन चेम्जोङ र अन्जन बिष्टको टोली राउण्डग्लास पञ्जाब एफसी र केन्क्रे एफसीले बुधबार रोमाञ्चक बराबरी खेलेका छन् ।

केन्क्रेको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै गोलको वर्षा भएपछि खेल रोमाञ्चक बनेको थियो । यद्यपि खेल भने बराबरी मै रोकिएर दुवै टोलीले अंक बाँड्न बाध्य बने ।

खेलको शुरुवाती दश मिनटभित्र रन्जित पान्ड्रे र अमन गैकवाडको गोलबाट केन्क्रेले खेलमा अग्रता बनाएको थियो । त्यो दुवै गोलका लागि अन्जन बिष्टले एसिस्ट गरेका थिए । यद्यपि लिगलिडर पञ्जाबका लागि चेञ्चो ग्याल्सेनले पहिलो गोल फर्काए । लगतै नाओचा सिंह र लुका माज्सेनले पञ्जाबका लागि गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

तेस्रो गोल खाएको केही मिनट लगतै पहिलो हाफ मै रन्जित पान्ड्रेले व्यक्तिगत दोस्रो तथा केन्क्रेका लागि तेस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफतर्फ ५३औं सुरजजित सिंह नेगीले रातो कार्ड खाँदै मैदान छाड्दा केन्क्रे दश खेलाडीमा खुम्चिन पुगेको थियो । यद्यपि त्यसको फाईदा पञ्जाबले उठाउन सकेन ।

यो बराबरीले पञ्जाबको लिग उपाधि होडमा भने केही झट्का लागेको छ । उता महत्वपूर्ण अंक खोसेको केन्क्रेले भने रेलिगेशन क्षेत्रबाट जोगिन आफ्नो प्रयासलाई थप बलियो बनाएको छ । १४ खेलबाट ३० अंक जोडेको पञ्जाब लिगतालिकाको शिर्ष स्थानमा छ भने केन्क्रे १५ खेलबाट १४ अंकका साथ ११औं स्थानमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल आइतबार सुदेवा दिल्लीसँग खेल्नेछ भने केन्क्रेले बुधबार नेरोकाको सामना गर्नेछ ।

Post Comments