News दमक दोस्रो सोनापुर गोल्डकपको फाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जितका साथ दमक फुटबल एकेडेमी, झापा यहाँ जारी दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा दमकले डागीहाट युथ क्लब, मोरङ्गलार्ई सडन डेथमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

दुहबी–८, स्थित सोनापुर प्लाटिङ्ग खेलमैदानमा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा भने दमकले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

निर्धारित समयतर्फ दमकका लागि ५७औं मिनटमा गौरव धिमालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि त्यसको तीन मिनट लगतै डागीहाटका लागि सुजन मगरले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए । खेलमा दमकका गोलरक्षक योगेश धिमाल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मेमोरी युवा क्लब र इटहरी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २८ गतेका दिन हुनेछ ।

Post Comments