News सातौं सुर्यनगर गोल्डकप शुरु, कपिलवस्तु–११ को विजयी शुरुवात
गोलनेपाल

सुर्यनगर । नवयुवा क्लब, बर्दघाट–१६, सुर्यनगर, नवलपरासीको आयोजनामा बुधबारदेखि शुरु सातौं सुर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा कपिलवस्तु–११ ले विजयी शुरुवात गरेको छ ।

सुर्यनगर रंगशालामा भएको उद्घाटन खेलमा कपिलवस्तुले नवलपरासी–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । कपिलवस्तुको जितमा सन्दिप चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता सन्दिप चौधरी नै खेलको म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै कपिलवस्तु प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ २६ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल सेन्ट्रल कलेज रडस एफसी, रामपुर, चितवन र रुपन्देही–११ बीच हुने प्रतियोगिता संयोजक भरत गुरुङ्गले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरपालिका वार्ड नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङ्ग, नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङ्गलगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

बर्दघाट नगरपालिका, नवलपरासीको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments