News सातौँ राजर्षि जनक कपमा जावलाखेलको विजयी सुरुवात
रमेश समदर्शी

बागमती । सर्लाहीको बामगतीमा आजदेखि सुरु सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब ललितपुरले विजयी सुरुवात गरेको छ । बागमती नगरपालिका ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जावलाखेलले एपीएफ एफसीलाई पराजित गर्दै क्वाटरफाइनल खेलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले थुप्रै अवसर खेर फालेका थिए । दोस्रो हाफमा भने जावलाखेल भाग्यमानी बन्यो । जावलाखेलको जितमा १ गोल नै निर्णायक बन्यो । एपीएफलाई पराजित गर्न परिवर्तित खेलाडी विनोद केसी सफल भए ।

खेलको करिब ६०औँ मिनेटमा मैदान प्रवेश गरेका विनोद केसीले सुनिल खड्काको स्थान लिएका थिए । उनले ६३औँ मिनेटमा सम्झनलायक गोल गरेर जावलाखेललाई जित दिलाए । दाँया क्षेत्रबाट पाएको सामान्य पासलाई लो हेडर गर्दै गोलमा परिणत गराएका थिए ।

एपीएफ एफसीका गोलकिपर एन्जल श्रेष्ठले डाइभ गरेको अवस्थामा विनोद केसीले फस्ट टचमै हेडरमार्फत गोल गरेका हुन् । खेलमा जावलाखेलका खेलाडीको थुप्रै प्रहारलाई एन्जलले विफल तुल्याइदिएका थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । उद्घाटन खेलको म्यान अफ दी म्याच जावलाखेलका गोलकिपर अनिज देउला घोषितहुँदै नगद १० हजार पाउन सफल भए ।

बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लबसमेत गरी १२ वटा क्लबले सहभागिता जनाउने छन् । जसमा एक विदेशी क्लब समेत रहेको क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए ।

उनका अनुसार आयोजक बागमतीसँगै युनाइटेड किंगडम एफसी दार्जीलिङ, संकटा क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, जावलाखेल यूथ क्लब, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम ११, मच्छिन्द्र फूटबल क्लब, धरान यूवा क्लव, जन–जागृति युवा क्लब सिमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले युवा क्लब हेटौँडाले सहभागिता जनाउने भएका छन् ।

९८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।

प्रतियोगिताका लागि बागमती नगरपालिकासहित विभिन्न सङ्घसंस्था, उद्योगी व्यापारीसँग सहयोग सङ्कलन गरिरहेको आयोजक क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।

Post Comments