News सुदुरपश्चिम–११ क्वाटरफाइनलमा प्रवेश
रमेश समदर्शी

बागमती । सर्लाहीको बामगतीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा आज भएको खेलबाट सुदूरपश्चिम ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारत दार्जीलिङको युकेएफसीलाई पराजित गर्दै सुदूरपश्चिमले दोस्रो खेलमा स्थान बनाएको हो ।

बागमती नगरपालिका ११ स्थित स्व सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुदूरपश्चिमले जित दर्ता गर्न अतिरिक्त समय पर्खिनु परेको थियो । निर्धारित समयमा दुवै टोलीले १ -१ गोलको बराबरी खेलेका थिए ।

२० मिनेट थप गरिएको अतिरिक्त समयको ९६औँ मिनेटमा मात्र निर्णायक गोल भएको थियो । खेलको ३७औँ मिनेटमा पाहुना टोली युकेएफसीका नारायण प्रधानले गोल गरेर अग्रता दिलाएका थिए ।

तर, सुदूरपश्चिमले पुनरागमन गर्दै अन्ततः जित दर्ता गर्न सफल बन्यो । सुदूरपश्चिमका लागि भरत टमाटाले टोलीलाई बराबरीमा ल्याएका थिए । उनले खेलको ४०औँ मिनेटमा गोल गर्दै जितको आश दिलाएका थिए ।

खेलमा ९० मिनेटको निर्धारित समयमा पनि छिनोफानो नभएपछि अतिरिक्ति समय १० मिनेट थप गरिएको थियो । जसको ९६औँ मिनेटमा फागुराम थारुले फ्रिकिकमार्फत गोल गर्दै टोलीको विजय सुनिश्चित गरेका हुन् ।

आजको खेलको म्यान अफ दी म्याच विजेता टिम सुदूरपश्चिमका निर्णायक गोलकर्ता फागुराम थारु घोषित भए । उनले नगद १० हजार र उपहार पाए । प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । भोलि नेपाल पुलिस क्लबले सिमराको एनजेजेवाईसी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए । 

Post Comments