News धरान फुटबल क्लबमाथि आयोजक बागमती युवा क्लबको गोलवर्षा
गोलनेपाल

पाहुना टोली धरान फुटबल क्लबमाथि आयोजक बागमती युवा क्लबले यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा गोलवर्षा गरेको छ । पहिलो हाफमा ३ गोल गरेको आयोजकले दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो ।

खेलको सुरुवातीबाटै दबाब सिर्जना गरेको आयोजकले धरानलाई ५-१ गोलले पराजित गरेको हो । छरितो खेल प्रस्तुत गरेको आयोजकले खेलको १२औँ मिनेटमै गोल गर्दै खाता खोलेको हो । मैदानको दायाँ भागबाट आयोजकका विमल घिसिङले प्रहार गरेको बलले जाली चुमेको थियो । यसअघि आयोजककले यसै क्षेत्रबाट २ पटक आक्रमण गरिसकेको थियो ।

यस्तै, आयोजकका सिर्जन गाैतमले ३ मिनेटभित्र २ गोल गर्न सफल भए । पहिलो हाफकै ४१ र ४४औँ मिनेटमा उनले व्यक्तिगत २ गोल गरे । यसैगरी, दिपेश चाम्लिङले ६२औँ मिनेटमा गोल गरेर ५-१ गोलको अन्तर निकालेका थिए ।

यसअघि धरानका कप्तान सुरज विकले आयोजकलाई खेलको ५४औँ मिनेटमा आत्मघाती गोलको उपहार दिएका थिए । धरानका लागि दोर्जे तामाङले ६१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । यतिखेर धरान ४-० गोलले पछि परेको अवस्था थियो ।

व्यक्तिगत २ गोल गरेका सिर्जन गाैतम खेलको म्यान अफ दी म्याच बन्दै नगद १० हजार पाउन सफल भए । उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनका प्रशंसकले प्रोत्साहनस्वरुप नगद ५ हजार इनाम दिएका थिए ।

यस्तै, खेलको पहिलो गोल गरेका विमल घिसिङले पनि इनाम पाएका छन् । उनलाई पनि प्रोत्साहनस्वरुप नगद ५ हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । भोलि साविक विजेता पिप्ले युवा क्लब हेटौँडा र जावलाखेल युथ क्लबले पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । जावलाखेलले उद्घाटन खेलमा एपीएफ एफसीमाथि १-० गोलको संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको टोली हो ।

बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ । हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।

Post Comments