News आयोजक नवयुवा सुर्यनगर गोल्डकपको सेमिफायनलमा
गोलनेपाल

सुर्यनगर । आयोजक नवयुवा क्लब, बर्दघाट जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वाटरफाइनलमा नवयुवाले चित्लाङ्र्ग एफसी, काठमाडौंलाई टाईब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।

सुर्यनगर रंगशालामा भएको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । जसमा आयोजकले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

निर्धारित समयतर्फ दुई गोलको स्पष्ट अग्रता जोगाउन नसकेको चित्लाङ्गले अन्ततः नतिजा आयोजकलाई सुम्पिन बाध्य बन्यो । खेलको पाँचौं मिनट मै चित्लाङ्गका लागि बिज्ञान खड्काले पहिलो गोल गरे । पहिलो हाफ कै अतिरिक्त समयमा सञ्जय श्रेष्ठले त्यो अग्रता दोब्बर पारे ।

तर दोस्रो हाफमा आयोजकले खेलमा पनःरागमन गर्यो । ७१औं मिनटमा सुरज आले मगरले नवयुवाका लागि गोल फर्काए भने ७९औं मिनटमा सुरज सुनारले दोस्रो गोल थप्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा नवयुवाका गोलरक्षक सुशान्त कोइराला म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ४ गते बिहीबारको पहिलो सेमिफाइनल खेल हरिवन युवा क्लब, सर्लाही र एपिएफ क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

नव युवा क्लब, बर्दघाट–१६, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments