News एपिएफ सुर्यनगर गोल्डकपको फाइनलमा
गोलनेपाल

सुर्यनगर । विभागीय टोली एपिएफ क्लब यहाँ जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा एपिएफले हरिवन युवा क्लब, सर्लाहीलाई टाईब्रेकरमा ५–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोली दश खेलाडीमा सिमित भएर खेलेका थिए । खेलको पहिलो हाफतर्फ २९औं मिनटमा हरिवनका कप्तान सुसिल राई र एपिएफका विरेन्द्र प्रसाद यादवले रातो कार्ड खाँदै मैदान छाड्दा दुवै टोली दश खेलाडी खुम्चिएको थियो ।

टाईब्रेकरमा एपिएफका लागि सुमन श्रैष्ठ, बिपन श्रेष्ठ, सबिन गुरुङ्ग, घनश्याम थारु र रवी थापाले गोल गरे । उता हरिवनका लागि मनोज राई, मिरक लिम्बु र प्रितम स्याङ्गबोले मात्र गोल गर्न सके । खेलमा हरिवनका गोलरक्षक अमित टमाटा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन ५ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल आयोजक नव युवा क्लब, बर्दघाट र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments