News शिर्ष स्थानमा फर्कियो दावेदार आर्मी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा यस सिजन उपाधिको बलियो प्रत्याशी मानिएको नेपाल आर्मी क्लबले रोमाञ्चक जित हात पार्दै फेरि शिर्ष स्थानमा कब्जा जमाएको छ ।

बिहीबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको दोस्रो खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफ क्लबलाई २–१ ले हरायो । आर्मीको जितमा दुवै गोल सन्तोष तामाङको नाममा रह्यो ।

१७औं मिनटमा तामाङले आर्मीका लागि पहिलो गोल गरे । तर, ३७औं मिनटमा आशिष लामाले एपिएफका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि एपिएफको त्यो बराबरी गोलको खुशी पनि धेरैबेर टिकेन ।

उता ४१औं मिनटमा सन्तोष तामाङले नै व्यक्तिगत दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । खेलमा तामाङ नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी प्राप्त गरे ।

यो जितसँगै ११ खेलबाट २६ अंक जोडेको आर्मी शिर्ष स्थानमा उक्लिएको छ । उता बिहीबार नै सरस्वतीलाई ६–१ ले हराएको मच्छिन्द्र २५ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै पराजित एपिएफ भने ५ अंकका साथ १३औं स्थानमा छ ।

बिहीबारको नतिजापछि आर्मीले अबको बाँकी दुई खेलहरुमा आफु अनुकुल नतिजा हात पारे यस सिजनको लिग उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल हुनेछ ।

Post Comments