News लर्ड वुद्धलाई प्रथम अन्तर विद्यालय जुनियर फुटबलको उपाधि
गोलनेपाल

सुनसरी । प्रथम विश्व आदर्श अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता २०७६ को उपाधि लर्ड वुद्धले जितेको छ । बिहिबार आयोजक विश्व आदर्श स्कुलको मैदानमा भएको फाइनल खेलमा लर्ड वुद्धले हिमशिखर एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा लर्ड वुद्धका लागि छैटौं मिनटमा दर्शन घिमिरेले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको सुरुवातमै आफुलाई सम्हाल्न नसक्दा हिमशिखरले गोल खान पुग्यो । खेलमा हिमशिखरका खेलाडीहरुले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा उप–विजेतामै चित बुझाउन बाध्य भयो ।

विजेता बनेको लर्ड वुद्धले उपाधिसहित नगद दस हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै, उपविजेता भएको हिमशिखरले नगद पाँच हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

त्यस्तै विद्यागततर्फ उत्कृष्ट गोलरक्षक लर्डबुद्धका दोजल चौधरी बने भने उत्कृष्ट डिफेन्डर हिमशिखरका समिन राई घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि हिमशिखर कै प्रिन्स चौलागाई बन्दा उत्कृष्ट फरवार्ड लर्ड बुद्धका दर्शन घिमिरे चुनिए ।

प्रतियोगिताभरि कुल चार गोल गरेका विश्व आदर्शका अर्पित राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा लर्ड बुद्धका बिमल मगर उत्कृष्ट प्रशिक्षक चुनिए । त्यसैगरी फाइनल खेलको म्यान अफ द म्याच भने लर्ड बुद्धका सबिन कार्की घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लर्ड बुद्ध कै प्रिन्स चौधरी बने ।

विद्यालयलाईं किताबी ज्ञान आर्जन गर्ने थलोको रुपमा मात्र नभई विद्यार्थीको चौतर्फी विकास गर्ने, विद्यार्थीको अन्तरनिहित बहुआयमिक प्रतिभालाईं प्रस्फुटन गर्न फुटबल प्रतियोगिता आयोजना गरेको आयोजक विश्व आदर्श स्कुलको भनाई थियो ।

प्रतियोगिता कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए । उमेर हद बढीमा १२ वर्ष तोकिएको थियो । साथै प्रतियोगितामा भाग लिने विद्यार्थीको उचाईं चार फिट आठ इन्च तोकिएको थियो । प्रतियोगितामा आयोजकसहित इटहरी क्षेत्रका १२ वटा टिमहरुको सहभागिता रहेको थियो ।

Post Comments