News पटिहानी फुटबल क्लबले शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम
गोलनेपाल

गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पटिहानी फुटबल क्लबले शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ ।

पटिहानी फुटबल क्लबको आयोजनामा ‘शिक्षासँगै खेलकुद’ भन्ने नारासहित भरतपुर– २२ पदमपोखरीको अमर उच्च माध्यमिक विद्यालयको खेलमैदानमा फागुन ६ देखि ९ गतेसम्म आयोजना गरिएको चारदिने तालिममा सञ्चालन भएको हो ।

तालिममा १२ जना विद्यालयका खेलशिक्षकसहित २९ जना सहभागी भएका थिए । विद्यालय तहको खेलकुद सुधार्न र समुदायमा खेल प्रशिक्षक तयार पार्न खेल प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको पटिहानी फुटबल क्लब (पिएफसी)का अध्यक्ष पोष्टराज तिमल्सिनाले सुनाए । खेलको जगका रूपमा विद्यालय खेलकुद भएकाले त्यही तहबाट अब्बल खेलाडीको छनोट र उचित प्रशिक्षण दिन तालिम सफल हुने क्लबको विश्वास छ । गण्डकी विश्वविद्यालयका ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट प्रोग्रामका एकेडेमी कोअर्डिनेटर डा. मधुसुदन सुवेदीले समग्र फुटबल विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

‘हामी विश्वस्त छौं कि हाम्रो सामुदायिक कोचिंग कोर्सले तपाईंलाई सबै उमेर र क्षमताका खेलाडीहरूलाई प्रभावकारी रूपमा तालिम दिन आवश्यक सीप र ज्ञानले सुसज्जित गरेको छ,’ सुवेदीले भने । तालिमले नेपालको फुटबलको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने कोअर्डिनेटर सुवेदीले विश्वास व्यक्त गरे । नेपाली फुटसलका मुख्य प्रशिक्षक एवं एएफसी ए लाइसेन्स प्राप्त राष्ट्रिय टिमका पूर्वसहायक प्रशिक्षक विष्णु गुरुङसँगै चितवन जिल्ला फुटबल संघका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

तालिममा गण्डकी विश्वविद्यालयका ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट प्रोग्रामका एकेडेमी कोअर्डिनेटर डा. मधुसुदन सुवेदी, प्राध्यापक सुरेशबहादुर थापा, आशिष आचार्य र सोनाम बुद्ध लामाले सैद्धान्तिक ज्ञानको प्रशिक्षण दिएका थिए ।

गण्डकी विश्वविद्यालयले सहकार्यमा सञ्चालन भएको उक्त तालिममा भरतपुर महानगरपालिका– २२ को कार्यालय र एलटिके आर्ट एन्ड स्पोर्टसले पनि समन्वय गरेको थियो । गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक ब्याचलर इन स्पोटर्स् म्यानेजमेन्टको पढाइ सञ्चालन गरेको हो ।

Post Comments