News पञ्चायन र रामधुनी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

दुहबी । पञ्चायन क्लब र रामधुनी युवा क्लब यहाँ जारी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

श्री सरस्वती माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा पञ्चायनले प्रकाशपुर फुटबल क्लबलाई २–१ ले हरायो । पञ्चायनको जितमा दुवै गोल सुदिप लिम्बुले गरे । उता पराजित प्रकाशपुरका लागि अभिषेक माझीले एक मात्र गोल फर्काए ।

खेलमा दुई निर्णायक गोल गरेका पञ्चायनका सुदिप लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे ।

त्यस्तै अन्तिम क्वाटरफाइनलमा रामधुनीले मेमोरी युवा क्लबलाई २–० ले हरायो । रामधुनीको जितमा निवास फुयाल र प्रतिक चौधरीले गोल गरे । खेलमा रामधुनीका निवास फुयासल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १६ गते मंगलबारको पहिलो सेमिफाइनल खेल शान्तिनगर फुटबल क्लब, इटहरी र फेयर फुटबल क्लब, धरानबीच हुनेछ ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि जित्ने टोली जिल्लास्तरीय बी डिभिजनमा उक्लिनेछ ।

Post Comments