
अखिल नेपाल फुटबल संघ (एन्फा) ले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा नेपालकै पहिलो महिला फुटबल एकेडेमी निर्माण गर्ने तयारीमा थियो । साथै त्यसका लागि आवश्यक काम कारवाही र तयारी पनि शुरु भएको बताइएको थियो ।
तर, एन्फाको त्यो एकेडेमी निर्माणको कार्य तत्कालका लागि रोकिने निश्चित देखिएको छ । एन्फाले एकेडेमी निर्माण गर्ने जग्गामा सरकारी जग्गा पनि मिचिएको भन्दै रिट परेपछि सर्वोच्च अदालतले तत्कालका लागि सम्पूर्ण काम रोक्न एन्फालाई अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता सुजित केसीले खेलकुद परिषद, एन्फा, एन्फा अध्यक्ष लगायत १६ जनालाई विपक्षी बनाई रिट दायर गरेपछि न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एन्फालाई सम्पूर्ण कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।
स्मरण रहोस, गत बर्ष जेठमा चन्द्रपुर नगरपालिका ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले ३.५ हेक्टर ५.२५ विघा सरकारी जग्गालाई एकेडेमी बनाउन रौतहट जिल्ला फुटबल संघका भगवान दर्लामीसँग २५ बर्षको लागि सम्झौता गरेका थिए ।
सोही सम्झौता पश्चात् एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग रकम स्वकृत गराई आवश्यक निर्माण कार्यका लागि निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो ।
यद्यपि एकेडेमी निर्माणका लागि कानुन बमोजिम नभएको र वातावरणीय मुल्यांकन प्रभावबाट पास नगरिएको अधिवक्ता सुजित केसीको दावी छ ।
साथै सर्वोच्चको यो अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णयमा पुग्न दुवै पक्षलाई यहि माघ २९ गते आवश्यक छलफलका लागि समेत बोलाइएको छ ।